आठौं उर्जा सम्मेलन वैशाख ५ देखि ६ गतेसम्म हुँदै, ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालले वैशाख ५ देखि ६ गतेसम्म आठौं उर्जा सम्मेलन –२०२३ गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईपानले आगामी बैशाख ५ र ६ गते काठमाडौंमा आठौं उर्जा सम्मेलन –२०२३ गर्ने जानकारी दिएको हो ।
इपानले ‘हरित उर्जाको बजार बिस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको आठौं संस्करणको ‘पावर समिट २०२३’ को तयारी अन्तिम चरणमा पुगेको बताएको छ । समिटको संरक्षक उर्जा मन्त्रालय र सह आयोजकमा लगानी बोर्ड रहेको ईपानले जनाएको छ । सम्मेलनमा उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एशियाली नेताहरुको समेत उपस्थिति हुनेछ । ईपानले पावर समिट नेपालको उर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुङ्गा सावित अपेक्षा गरेको छ ।
ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिव ८०० जना सहभागी हुने बताएको छ । सम्मेलनमा नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता (पिपिए), नवीकरणीय ऊर्जा विकास र बजार बिस्तारका लागि सम्झौता गरिनेछ ।
सम्मेलनमा नेपालको विद्युत बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, नवप्रवद्र्धन सोलार, हाइड्रोजन,अन्तरदेशिय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिने सम्मेलनमा संयोजक आशिष गर्गले जानकारी दिए । सम्मेलनमा १५ वटा स्टल समेत राखिने र स्टलको लागि स्वदेशी कम्पनीको लागि ८ हजार विदेशी कम्पनीहरुको लागि १० हजार तोकिएको छ ।