उपनिर्वाचन अपडेट : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिन्ह पनि दिइने
काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (चैत २३ गते) उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिन्ह दिइने आयोगले जनाएको छ । चुनाव चिन्ह वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ ।
वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन हुँदैछ ।
गत मंसिर ४ गते भएको चुनावमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले यी क्षेत्रमा उपचुनाव हुन लागेको हो ।