युनेस्को विश्व महासंघ एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्वाचित
काजकस्तान । युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्रको काजकस्तानको राजधानी अलमाटिमा आइतबार सम्पन्न २६औँ साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो ।
त्यस क्षेत्रको १२ देशले सहभागीता जनाएको अधिवेशनमा दुई उपाध्यक्ष पदका लागि नेपाल र भियतनामको मात्र उम्मेदवारी दर्ता भएकाले दुबै देश उपाध्यक्षमा निर्विरोध भएका हुन् । नेपालबाट युनेस्को महासंघका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आन्नदराज त्रिपाठी चुनावी मैदानमा उत्रिएका थिए ।
अध्यक्षमा भने कोरिया र फिलिपिन्सले दावी गर्दै उम्मेदवारी दिएको थियो । कोरिया र फिलिपिन्सबीचको प्रतिस्पर्धामा मतका आधारमा कोरिया अध्यक्षमा निर्वाचित भएको हो । कोरियाले १० मत प्राप्त गर्दा फिलिपिन्सले भने २ मत मात्र प्राप्त गरेको थियो । कोरियाबाट सञ्जु ली (Sunjoo Lee) चुनावी मैदानमा उत्रिएकी थिइन् ।
उपाध्यक्षमा निर्वाचित भएपछि नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघका अध्यक्ष त्रिपाठीले एसिया तथा प्रशान्त क्षेत्रमा युनेस्को अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।