तेलको मूल्य निर्धारणमा युरोप केन्द्रित ‘ब्रेन्ट क्रुड’ को सट्टा ‘दुबई बेन्चमार्क’ प्रयोग गर्न भारत र रुस सहमत
रुसको सबैभन्दा ठूलो तेल उत्पादक ‘रोजनेफ्ट’ र भारतको शीर्ष रिफाइनर ‘इन्डियन आयल कर्पोरेसन (आइओसी) ले तेलको मूल्य निर्धारणमा एसिया केन्द्रित ‘दुबई बेन्चमार्क’ प्रयोग गर्न सहमत भएका छन् । सरकारी स्वामित्वका यी दुवै कम्पनीले भारतमा रुसी तेलको आपूर्ति सोही बेन्चमार्कमार्फत गर्ने सहमति गरेको रोयटर्सले उल्लेख गरेको छ । रुसी तेलको आपूर्ति एसियामा बढ्दै गएपछि युरोप केन्द्रित ‘ब्रेन्ट बेन्चमार्क’ त्याग्ने निर्णयमा यी दुई सरकारी कम्पनी पुगेका हुन् ।
दुवै बेन्चमार्कहरू डलरमै मूल्यांकन गरिने भएपनि ब्रेन्ट प्रायः युरोपेली तेल कम्पनी र व्यापारीहरुले प्रयोग गर्छन् । यता, दुबई बेन्चमार्क भने एसियाली र मध्यपूर्वको तेल व्यापारबाट धेरै प्रभावित रहेको छ । रोजनेफ्टका प्रमुख कार्यकारी इगोर सेचिनले गत फेब्रुअरीमै रुसी तेलको मूल्य युरोपबाहिर निर्धारण गरिने बताएका थिए । पश्चिमले निर्यातमा क्रमिकरुपमा कडा प्रतिबन्ध लगाएपछि एसिया रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ताको रुपमा उभिएपछि उक्त निर्णयमा रुस पुगेको हो ।
मार्च २९ मा घोषणा गरिएको नयाँ सम्झौता अन्तर्गत रोजनेफ्टले इन्डियन आयल कर्पोरेसनलाई हालको भन्दा लगभग दोब्बर तेल बिक्री गर्नेछ । रोजनेफ्टले अप्रिल १ देखि सुरु हुने भारतको नयाँ आर्थिक वर्षमा आइओसीलाई प्रत्येक महिना १ करोड १० लाख ब्यारेलसम्म बिक्री गर्ने रोयटर्सले जनाएको छ । जसमा आइओसीले दुबई बेन्चमार्कमा सेट भएको मूल्यमा प्रतिब्यारेल ८ देखि १० अमेरिकी डलरसम्म छुट पाउनेछ ।