इम्बोस्ड नम्बर प्लेटमा अब नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने, कानुन संशाेधन गर्ने निर्णय
काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटको नम्बर नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने व्यवस्था गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यातायात व्यवस्था ऐनलाई संशाेधन गर्ने निर्णय गरेको हो। हालको व्यवस्था अनुसार इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै लेख्ने व्यवस्था थियो ।
हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकाे समयमा उनकै पहलमा इम्बोस्ड नम्बर नेपालीमै राख्ने गरि प्रक्रिया अघि बढाइएको थियाे ।
सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णय सुनाउदै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो ।
योसँगै सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ ।