अनलाइन सेक्युरिटिजले धनगढीमा सम्पन्न गर्यो पुँजी बजार सचेतना कार्यक्रम
काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेडले पुँजी बजार सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको धनगढीको विभिन्न कलेज तथा संस्थाहरुमा यो कार्यक्रम आयोजना गरिएको हो । धनगढीमै प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा पुँजी बजार र अर्थतन्त्र विषयमा प्रशिक्षण कार्यक्रम गरिएको छ । यस कार्यक्रममा अमिन्त्रितका रुपमा अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवाल र कारोबार प्रमुख विजय प्रसाद लामिछानेबाट प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा नेपालका सताहत्तरै जिल्लाका प्रतिनिधिको सहभागिता थियो । यस कार्यक्रममा सेयर बजारले कसरी अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी प्रस्तुतकर्ताद्वयले दिएका थिए । धनगढीको ओम पार्टी प्यालेसमा भएको कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ विशाल कुमार अग्रवालले दिएका थिए ।
यस्तै, सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै चैत १९ गते धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा एमबीएस प्रथम तथा तेस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीका लागि सेयर बजार सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न भएको अनलाइन सेक्युरिटिजले जानकारी गराएको छ ।
क्याम्पसको आयोजनामा भएको कार्यक्रममा विज्ञका रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछानेसहित प्राध्यापक ड़ा. रामजी गौतमले समेत प्रस्तुतीकरण दिएका थिए । विज्ञहरुले सेयर बजार के हो ? कसरी लगानी गर्न सकिन्छ र लगानी कसरी सुरक्षित गर्न सकिन्छ ? भन्ने लगायतका विषयमा आ–आफना भनाई राखे । कार्यक्रममा ७८ जनाको उपस्थिति थियो ।