इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४ सय ४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५ सय १० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ ।
यस्तै, काठमाडौंबाट भद्रपुरका लागि ३ सय, विराटनगरलाई २ सय ४०, जनकपुरका लागि १ सय ३०, भरतपुरका लागि १ सय ५ र पोखराका लागि १ सय ५५ रुपैयाँ घटेको छ । त्यसैगरी काठमाडौंबाट भैरहवाका लागि २ सय ५, नेपालगन्जको लागि ३ सय २५, तुम्लिङटारका लागि १ सय ८५, सिमराका लागि ९०, सुर्खेतका लागि ३ सय ४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ ।
यो भाडादर चैत २२ गतेबाट बाट लागु हुने वायुसेवा सञ्चालक संघले जनाएको छ । नेपाल आयल निगमले सोमबार मात्रै हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।