विपी नेत्र प्रतिष्ठानले स्थापना गर्यो अटिजम केयर सेन्टर

काठमाडौँ । विपी नेत्र प्रतिष्ठानले भक्तपुरस्थित चियर्स अस्पतालमा अटिजम केयर सेन्टरको स्थापना गरेको छ।
आइतबार विश्व अटिजम दिवसका दिन मध्यपुर ठिमीको चियर्स अस्पतालमा रहेको अपांगता तथा विकासका लागि एकीकृत केन्द्रमा सेन्टरको स्थापना गरेको हो।
अटिजम भएका बालबालिकाहरूलाई पुनर्स्थापना तथा प्रशिक्षण सेवा उपलब्ध गराउन बाल, आँखा, नाक, कान, घाँटीको उपचार गराउन सेन्टरको स्थापना गरेको हो। त्यस्तै अस्पताल तथा पुनर्स्थापना सेवा (चियर्स) ले अटिजम भएका बालबालिकाहरूलाई फिजियोथेरापी, पेसागत थेरापी, न्यून दृष्टि थेरापी, भिजन थेरापी, स्पीच थेरापी, व्यवहारात्मक थेरापी र मनोसामाजिक थेरापीका साथै उपचार तथा आवश्यक तालिम दिई विद्यालयसम्म जान सक्ने गरी तयार गर्नेछ।
दृष्टिविहीन बालबालिका, दृष्टि तथा श्रवण शक्ति कमजोर वा अपांगता भएका बालबालिकालाई स्वास्थ्य सहायता प्रदान गर्न तीन दशकअघि स्थापना भएको विपी नेत्र प्रतिष्ठानले फिजियोथेरापी, पेसागत थेरापी, न्यून दृष्टि थेरापी, भिजन थेरापी, स्पीच थेरापी, व्यवहारात्मक थेरापी र मनोसामाजिक थेरापीका सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ।
अटिजम स्पेक्ट्रम डिसअर्डर भनेको बाल विकासका क्रममा मस्तिष्कमा हुने एक प्रकारको असन्तुलन हो।
अटिजम भएका बालबालिकाहरूमा प्रायः सामाजिक सञ्चार र संलग्नता साथै अवरोध गरिएका कार्य वा बारम्बार दोहोरिने कार्य जस्ता व्यवहार वा रूचिमा समस्या आउनाले उनीहरूको सामाजिक जीवनलाई अत्यन्तै कठिन र संघर्षशील बनाउने गर्दछ।
प्रतिष्ठानका महासचिव तथा चियर्स अस्पतालका कार्यकारी निर्देशक डा. संजिवकुमार उपाध्यायले अस्पतालमा ५२ जना अटिजम भएका बालबालिकाहरू रहेको बताए।
‘हामीले प्रायः अटिजम स्पेक्ट्रम डिसअर्डर; अन्धोपन, दृष्टि र श्रवण शक्ति कमजोर वा अपांगता भएका बालबालिकाहरूमा फेला पार्ने गरेका छौं। हाम्रो अस्पतालमा हामीले अहिलेसम्म ५२ जना अटिजम भएका बालबालिकालाई पहिचान गरेका छौं,’ उनले भने, ‘तीमध्ये २९ जनालाई सक्षम केन्द्र (पुनर्स्थापना)मा तालिम दिएर विशेष शिक्षा प्रदान गर्ने विद्यालयहरूमा भर्ना गरी उनीहरूलाई शिक्षाको मूलधारमा प्रवेश गराएका छौं।’
अटिजम भएका बालबालिकाका लागि विशेष कार्यक्रम बनाउने आवश्यकता महसुस गरेपछि केन्द्र खोल्ने निर्णय गरेको पनि उनले बताए।