पुराना तन्ना, घर सजाउने अनेक काइदा
घरमा केही परिवर्तन ल्याउने चाहना जो कसैको हुने गर्छ । घरमा ल्याइएको साधारण परिवर्तनले पनि भिन्न लूक्स दिन्छ । नयाँपनले मानिसको मूडमा पनि सकारात्मकता प्रवाह गर्छ । विभिन्न किसिमका घरायसी वस्तुको प्रयोग गरी हामी केही पृथक्ता ल्याउन सक्छौं । यदि तपाईंको घरमा पुराना तन्ना छन् भने त्यसलाई नहाल्नुहोस् । किनकि, त्यसको प्रयोग गरी आफ्नो घर तथा कोठालाई मज्जाले सजाउन सकिन्छ । सुती, टेरिकाट तथा सिल्कका तन्नाबाट सजाइएको कोठाले घरमा आउने आगन्तुकहरूलाई समेत प्रफुल्ल बनाउन सकिन्छ
झ्यालको पर्दा
यदि तपाईंको घरमा फूल, पातको डिजाइन भएको रङ्गीन तन्ना छ भने त्यसलाई गर्मीको समयमा झ्यालमा पर्दाको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि पहिले आफ्नो झ्यालको नाप लिनुहोस् र सोहीअनुसार तयार गर्नुहोस् । त्यसलाई झ्यालमा लगाइसकेपछि नियाल्नुहोस्, कोठामा साँच्चै नयाँपन पाउनुहुनेछ ।
आइरन बोर्डको कभर
कुनै पनि आइरन बोर्डलाई पुरानो तन्नाको खोलले ढाक्नु एकदमै राम्रो काइदा हुन सक्छ । त्यसका लागि पहिले कुनै पनि सुतीको तन्ना लिनुहोस् । त्यसले बोडलाई छोपेर पिन लगाउनुहोस् । यदि उपलब्ध छ भने गाढा रङको तन्नाको प्रयोग गर्नु राम्रो हुन्छ ।
कुशनको खोल
तपाईंंसँग पोलिष्टर वा सिल्कको पुरानो तन्ना छ ? यदि छ भने यसलाई तपाईं कुशनको खोल बनाउन सक्नुहुन्छ । आफ्नो पुरानो तन्नालाई कुनै टेलरकोमा लिएर जानुहोस् र त्यसलाई कुशनको खोल बनाउन दिनुहोस् । त्यसरी बनाइएको खोलले कुशनलाई निकै आकर्षक देखाउनेछ ।
टेबल कभर
सेण्टर टेबल वा साइड टेबललाई तन्नाले सजाउन सकिन्छ । त्यसका लागि एउटा सुतीको तन्नाको व्यवस्था गर्नुहोस् । त्यसलाई टेबलको साइजअनुसार काट्नुहोस् । यसको किनारातर्फ सिलाउनुहोस् । आफ्नो सृजनशीलता देखाउन यसमा झालर पनि लगाउनुहोस् । अब टेबलको भिन्न लूक्स देखेर मग्न हुनुहोस् ।
मैला कपडा राख्ने झोला
मैला कपडा राख्न तपाईंले तन्नाबाट एउटा झोला बनाउन सक्नुहुन्छ । यो हेर्दा राम्रो देखिन्छ । यस्तो लाग्छ कि कोठामा कुनै सुन्दर वस्तु सजाइएको छ । यसो गर्दा तपाईंको पैसाको पनि बचत भयो, रचनात्मकता पनि देखियो । पुराना तन्नाको प्रयोग गरेर घर⁄कोठामा यसरी आकर्षण थप्न सकिन्छ ।