जापानमा यसरी बन्छन् घर ?
मदन लामिछाने
नेपालमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको १ महीनापछि जापानमा पनि उस्तै शक्तिशाली भूकम्प गयो । तर, नेपालको जत्रै भूकम्प जाँदा पनि त्यहाँ अत्यन्त न्यून भौतिक नोक्सानीबाहेक मानवीय क्षति भएन । जब कि, नेपालमा खर्बौंबराबरको भौतिक क्षति र करीब ९ हजार जनाको मृत्यु भयो । नेपालमा पनि भूकम्पबाट ठूलो क्षति हुन नदिन घर निर्माणमा जापानी प्रविधि उपयुक्त हुन सक्छ । जापानी सामान तथा प्रविधिको प्रयोग गरेर नेपालमा भौतिक संरचना निर्माण गर्न सकिन्छ । घर⁄भवन निर्माणमा जापानी प्रविधिसम्बन्धी जानकारी सबैले राख्नु राम्रो हुन्छ । जापानीहरूले घरका सबै भित्ता तथा छानाहरू कारखानामा उत्पादन गर्छन् । यहाँ जस्तो इँटा, सिमेण्ट मिश्रण गरी घर बनाउने चलन त्यहाँ छैन । तर पनि ती घरले ९ रेक्टरभन्दा माथिका भूकम्प पनि सजिलै थेग्न सक्छन् । यसरी बनाइने घर धेरै हलुका हन्छन् । यस्ता सामग्री प्रयोग गरेर केही दिनमै घर निर्माण गर्न सकिन्छ । त्यस्तै, केही हप्तामा सयौं मानिस बस्न मिल्ने विशाल घरहरू पनि बनाउन सकिन्छ । नेपालमा पनि अब हामीले यस्तै घरहरू निर्माण गर्नुपर्छ । यो प्रविधि र सामान हाम्रा दाता राष्ट्रसँग सहयोग वा ऋण लिएर नेपालमा आयात गर्न सकिन्छ । चीनमा पनि केही हप्ताको समयमै त्यस्ता घर निर्माण गर्ने गरिएको छ ।
जापानमा भवन निर्माणको विकासक्रम
जापानमा १९औं शताब्दीताका अमेरिका र यूरोपको वास्तुशिल्पीबाट प्रभावित भएर इँटाका दुई अथवा तीनतले भवन निर्माण गर्न थालियो । सन् १९९१ मा गएको ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले यसरी निर्माण गरिएका इँटाका भवन ध्वस्त भए । त्यतिबेला गएको भूकम्पले जापानीमाझ भूकम्पप्रतिरोधी घर बनाउनुपर्ने सोचको विकास गराएको थियो । २०औं शताब्दीमा १ सय २ फिटभन्दा अग्लो भवन बनाउन नपाइने कानून जापानमा बन्यो । किनकि, त्यतिबेला जापानमा ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले १ सय २ फिटभन्दा अग्ला भवन मात्र भत्काएको थियो ।
तर, टोकियोलगायत जापानका प्रमुख शहरमा जनघनत्व निरन्तर बढ्न थालेपछि शहरी क्षेत्रमा होचो घर बनाएर आवासको बढ्दो माग पूरा गर्न नसकिने अवस्था सृजना भयो । त्यसपछि सन् १९६५ मा अग्लो घर बनाउन नपाइने कानून खारेज गरियो । त्यसको ३ वर्षपछि टोकियोमा ३६ तले भवन बन्यो, जुन ४ सय ८२ फिट अग्लो थियो । त्यसयता जापानमा अग्ला अग्ला भवन बन्ने क्रम अझै जारी छ ।
- गगनचुम्बी घरको बीचतिर कम्पन र सेस्मिक वेब सोस्न सक्ने क्षमताको ‘ट्युण्ड ड्याम्पर’ जडान गरिएको हुन्छ । यसले भूकम्पका क्रममा भवन गल्र्यामगुर्लुम भत्किनबाट जोगाउने गर्छ । सवारीसाधनमा पनि यस्तो उपकरण जडान गरिएको हुन्छ ।
- जापानका भवनमा बसोवास शुरू गर्नुअघि यसलाई ‘शेक टेबल टेष्ट’ प्रविधिमार्फत भवन भूकम्पप्रतिरोधी छ कि छैन भन्ने परीक्षण गरिन्छ । विभिन्न मेशिनमार्फत कृत्रिम रूपमा घरको जगमा कम्पन सृजना गरी निर्माण गरिएको भवनले कति रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्छ भन्ने सुुनिश्चित गरिन्छ ।
- विशेषगरी बेस आइसोलेसन डिजाइनअन्तर्गतको घर बनाइन्छ । यस्तो घर जगको तल्लो सतहमा उत्पन्न हुने कम्पन सोस्न सक्ने गरी निर्माण गरिएको हुन्छ । यस्तो डिजाइनका घरको तल्लो तह फराकिलो हुन्छ ।
- भवनको जगमा स्प्रिङ जडान गरिन्छ, जसले भूकम्पका कारण घरलाई भत्किनबाट जोगाउँछ । भवन निर्माण गर्दा जग गहिरो बनाइन्छ, यसमा ठूल्ठूला भूकम्पको झ्डका सोस्ने खालका ‘शक एब्जर्बर’ राखिन्छ ।