अब एक्लै घुम्न जान नपाइने, पथप्रदर्शक अनिवार्य हुनुपर्ने प्रावधान लागू
काठमाडौँ । नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।
नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभुत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरु गरिएको हो । यो मापदण्ड आजबाट नै लागू हुनेछ । पदयात्री एवं पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभुत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमति पत्र लिनुपर्नेछ । अर्थात अबबाट कोही पनि समूहमा मिलर जटिल स्थानतर्फ (विशेष गरी) हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान नपाइने भएको हो ।
तर हिमाल आरोहण अनुमति पत्र लिइ हिमाल आरोहण जाने आरोहीले टिप्स अनुमति पत्र लिनु पर्नेछैन । अध्यागमन विभागबाट अनुमति पत्र लिइ नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकको लागि टिप्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भुमिका खेल्ने बताए । उनले भने, ‘हाम्रो देशको आर्थिक विकासमा पर्यटनको क्षेत्रबाट धेरै ठूलो योगदान भइरहेको छ, हाम्रो पालामा नै हामीले पर्यटनमा ठूलो विकास गर्नुपर्नेछ । प्रविधि र पर्यटनको क्षेत्रमा हामी एक पाइला अघि बढेका छौँ । यसले अझै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नेछ ।’
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम जारी गरेको बताए । उनले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबबाट भने अनिवार्य रुपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू गरेको बताए ।