आजदेखि रसुवागढी नाका पूर्ण सञ्चालनमा, ३ वर्षपछि मानव आवागमन खुला
रसुवा । चीनले रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ ।
कोभिड-१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।
आज एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले जानकारी दिएका छन् ।
नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै उनले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गरेका छन् ।
नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ।
केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ।
रसुवागढी नाका खुला भए पनि नेपाल चीनको दोस्रो ठूलो तातोपानी नाका भने स्थलमार्गको आवाजावतका खुला हुने टुंगो छैन ।