प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र सहमति जुटाएर आज नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । बिहीबार मन्त्री नियुक्त गर्ने तयारी भए पनि सहमति जुट्न नसक्दा शुक्रबारका लागि सरेको हो ।
बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रबार मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएर शपथको कार्यक्रम गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरूसँग छुट्टाछुट्टैसमेत छलफल गरेका थिए । सत्ता साझेदार दलहरूबीच कांग्रेसले ८, माओवादी ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २र२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई १र१ मन्त्रालय लिने सहमति भएको थियो ।