जीवन बीमा कम्पनीहरुको बीमाशुल्क १.६८ प्रतिशतले बढ्याे
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको आठ महिना (फागुन) सम्ममा ९३ अर्ब ७५ करोड ३७ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.६८ प्रतिशतले मात्रै धेरै हो ।
गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।
१८ वटा जीवन बीमा कम्पनीहरु मध्ये ११ वटाले बीमा शुल्क बढाउँदा सात कम्पनीको व्यवसाय भने खस्किएको बीमा प्राधिकरणको तथ्यांक छ ।
बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रतालाई कायमै राखेको छ । यस अवधिमा २४ अर्ब ३८ करोड ८६ लाख रुपैयाँ बराबरको बीमाशुल्क नेपाल लाइफ एक्लैले आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २६ प्रतिशत हो ।
गत आर्थिक वर्षको फागुनसम्ममा कम्पनीले २३ अर्ब ९३ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा आइमएई लाइफले भने सबै भन्दा धेरैले बीमाशुल्क बढाएको छ । यस अवधिमा आइएमई लाइफको बीमाशुल्क २२.३३ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब १४ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै नेशनल लाइफको बीमाशुल्क १३.४० प्रतिशत, सविकको रिलायन्स लाइपको ११.२६ प्रतिशत, महालक्ष्मी लाइफको ९.०६ प्रतिशत, साविकको सानिमा लाइफको ७.९७ प्रतिशत, प्रभु लाइफको ५.७३ प्रतिशत, एलआईसी नेपालको ३.४२ प्रतिशत, सिटिजन लाइफको २.६१ प्रतिशत, नेपाल लाइफको १.८७ प्रतिशत र एशियन लाइफको १.०४ प्रतिशतले बढेको छ ।
सबै भन्दा कम बीमाशुल्क बढाउनेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानको बीमाशुल्क ०.८२ प्रतिशतले बढेर ६ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थानले ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो ।