डिप्रोक्स र आदर्श लघुवित्तले गरे प्राप्तिका लागि अन्तिम सम्झौता
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्तिका लागि अन्तिम सम्झौता गरेका छन् । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरको जानकारी नेप्सेमार्फत गराएका हुन ।
दुबै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका छन् । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन ।
अन्तिम सम्झौता गरेका यी कम्पनीले एकिकृत कारोबारका लागि भने नियामक निकाय नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृति लिनुपर्नेछ । नियामकको स्वीकृति लिई एकिकृत कारोबारका लागि तयारी अघि बढाईएको जानकारी समेत कम्पनीले दिएको छ ।
यस वर्ष आदर्श लघुवित्तले २० प्रतिशत र डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरीसकेका छन् ।
आदर्श लघुवित्तले रू. २ करोड ७ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र डिप्रोक्स लघुवित्तले १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएका हुन ।
डिप्रोक्स लघुवित्तको बोनस पछि चुक्तापूँजी रू. १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार र आदर्श लघुवित्तको चुक्तापूँजी रू. २ करोड ४८ लाख ४० हजार पुग्नेछ । समान हैसिएतमा एक भएपछि बन्ने नयाँ कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५५ करोड १० लाख ८८ हजार पुग्नेछ ।