एफएनसीसीआई कोशी प्रदेश अध्यक्षमा राउत निर्वाचित
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको दोस्रो साधारणसभाले राउतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताका अनुसार, महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् ।
पौडेलले यसअघि अध्यक्षमा दाबी पेश गरेपनि उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मतिको वातावरण बनेको हो । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविषकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले बताए ।
राउत यसअघि दुईपल्ट प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनी केही समय अघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि उनलाई प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको थियो ।
निर्वाचन समितिले उम्मेद्वारहरुको नामावलीमा कसैको दावी विरोध नपरेपछि सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।