विश्व वित्तीय सप्ताहको उपलक्ष्यमा बोर्डले जारी गर्याे २८ बुँदे सन्देश

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आम लगानीकर्ताको लागि २८ बुँदे सन्देश जारी गरेको छ । बोर्डले मार्च २० देखि २६ सम्म मनाइने विश्व वित्तीय सप्ताह (ग्लोबल मनी वीक २०२३) को अवसर पारेर लगाीकर्ताको लागि विभिन्न बुँदामा सन्देश जारी गरेको हो ।
बोर्डले धितोपत्र बजारमा समय समयमा उतारचढाब आउन सक्ने भन्दै यो क्षेत्रमा लगानी गर्दा यथार्थ सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धि लगानी सम्बन्धी निर्णय लिन भनेको छ ।
धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक, क्लब हाउस, युटयूब तथा टिकटक (आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिन बोर्डले अनुरोध गरेको छ ।
धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्न बोर्डले सुझाब दिएको छ । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुपर्नेमा समेत बोर्डले जोड दिएको छ ।
धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुपर्ने सुझाब बोर्डको रहेको छ ।
धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानीको निर्णय लिनुपर्ने सन्देश पनि बोर्डले दिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा १० प्रतिशत शेयर सुरक्षित गरिएकाले आफ्नो नाममा विप्रेषण बचत खाता खोली उक्त खाताको सिआरएन नम्बर लिएर आवेदन गर्न बोर्डले भनेको छ ।
धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग हुनपर्ने धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिनुपर्ने , धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुपर्ने , दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार हुनपर्ने सन्देश समेत बोर्डको छ ।
धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुपर्ने भनाई बोर्डको रहेको छ । धितोपत्र कारोवार गर्दा रकमको लेनदेन बैंकमार्फत गर्नुपर्ने , आफुले लगानी गर्न लागेको धितोपत्र कुन प्रकारको धितोपत्र हो त्यसको विशेषता, फाइदा वा वेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुपर्ने सन्देश बोर्डले दिएको छ ।
यी सँगै नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यवस्था भएको हुंदा सो वारे जानकारी राख्नुपर्नेमा समेत बोर्डले लगानीकर्ताको ध्यानाकर्षण गराएको छ ।
धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक बोकर) मार्फत मात्र कारोबार गर्नुपर्ने, धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्नुपर्ने, धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुपर्ने भनाई बोर्डको छ ।