एफएनसीसीआई र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारीबीच महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू बारे बृहत् छलफल भएको छ।
विद्यमान आर्थिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले एफएनसीसीआई सचिवालय टेकुमा उक्त छलफल भएको हो। छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारीहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी भएका थिए। सो अवसरमा अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा विस्तृृत जानकारी गराएका थिए भने उनले बाह्य क्षेत्रमा केही सुधार देखिए पनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताएका छन्।
अध्यक्ष गोल्छाले सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति, आन्तरिक एवं बाह्य ऋणको अनुपातका हिसाबले नेपालको अर्थतन्त्र मजबुत देखिए पनि चर्को व्याजदर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ताजनक रहेको बताएका छन्।