जसपाकी मन्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टीकी मन्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचन आयोगले सोमबार समानुपातिक सूचीमा रहेकी उनलाई निर्वाचित गरेको उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
जसपाकी समानुपातिक सांसद शहनाज रहमानको निधन भएको थियो। उनको निधन भएपछि आयोगले बन्दसूचीको क्रम ५३, महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकताक्रम २ मा रहेकी शर्मालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गरिएको हो।
निर्वाचित भएकी उनको नामावली राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको सहायक प्रवक्ता अर्यालले बताए।
प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी संघीय संसद र सम्बन्धित दललाई दिइने आयोगले जनाएको छ।
गत फागुन १३ गते सांसद रहमानको निधन भएको थियो। भक्तपुरमा आयोजित पिकनिकमा गएको बेलामा हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो।
मध्यपुर ठिमी अस्पतालमा उनको निधन भएको हो।