वार्षिक १५ प्रतिशतले बढ्ने ग्याँस खपत ७ महिनामा ५ प्रतिशतले घट्यो
काठमाडौं । खाना पकाउने एलपी ग्यासको खपत घट्न थालेको छ । नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)सम्ममा खाना पकाउने ग्यासको खपत दुई लाख ९४ हजार २२८ मेट्रिक टन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन लाख ९ हजार ८१३ मेट्रिक टन ग्यास खपत भएको थियो । खाना पकाउने ग्यासको खपतमा ५ प्रतिशतले कमी आएको हो ।
त्यसयता पहिलोपटक ग्यास आयात घटेको हो । पछिल्लो समय सहरी क्षेत्रमा इन्डक्सन चुलोको प्रयोग बढ्न थालेका कारण ग्यास खपत घटेको निगमको अनुमान छ । ‘इन्डक्सन चुलोको प्रयोग बढ्न थालेको छ । त्यसको असर ग्यास आयातमा देखिएको हुन सक्छ,’ सहायक प्रवक्ता कार्कीले भने । त्यस्तै, औद्योगिक क्षेत्रमा वेल्डिङको काम गर्नसमेत ग्यासको प्रयोग हुन छाडेकाले पनि खपतमा असर परेको निगमको भनाइ छ ।
आयल निगमका अनुसार चालू आव ०७९/८० को माघ महिनासम्म दुई लाख ९४ हजार दुई सय २७ मेट्रिकटन ग्यास खपत भएको छ । गत आव ०७८/७९ को माघ मसान्तसम्म तीन लाख नौ हजार नौ सय १४ मेट्रिकटन ग्यास खपत भएको थियो । गत आवको यही अवधिमा ग्यास खपत १६ प्रतिशतले वृद्धि भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यो वर्षको माघ मसान्तसम्म १५ हजार ६ सय ८६ मेट्रिकटन ग्यास कम आएको देखिन्छ । यो भनेको ११ लाख चार हजार ६ सय ६२ थान सिलिन्डर भर्न पुग्ने ग्यास हो । ‘यसरी हेर्दा माघ मसान्तसम्म एक अर्ब ९८ करोड रुपैयाँ मूल्यबराबरको ग्यास खपत घटेको देखिन्छ,’ कार्कीले भने, ‘निरन्तर घाटा व्यहोरिरहेको ग्यासको खपत घट्दा निगमलाई समेत आर्थिक नोक्सानी कम हुन मद्दत मिलेको छ ।’ हाल दैनिक एक लाख ग्यास सिलिन्डरको खपत भइरहेको निगमको तथ्यांक छ । तर, बिस्तारै यो संख्यामा कमी आउने देखिएको कार्कीले बताए ।
विगतमा खाना पकाउने ग्याँसको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको निगमको तथ्यांक छ । आव २०७७।७८ मा २ लाख ६७ हजार १२ मेट्रिक टन ग्याँस बिक्री भएकोमा आव २०७८।७९ मा १५.६० प्रतिशतले बढेर ३ लाख ९ हजार ८१३ मेट्रिक टन ग्याँसको खपत भएको थियो।
विद्युतीय चुल्होको प्रबर्द्धन गर्दा घट्यो ग्याँसको खपत
अहिले नेपालमा वर्षायाममा पर्याप्त बिजुली जगेडा रहेको छ । ५–६ वर्ष अगाडि पिक डिमान्डको समयमा हिटर, पंखालगायतका विद्युतको सामान नचलाउन अनुरोध गर्ने प्राधिकरण अहिले खाना पकाउँदा सक्दो विद्युतीय चुल्होको प्रयोग गर्न अनुरोध गर्न थालेका छन् । प्राधिकरणको अनुरोधकै कारण पछिल्लो समय विद्युतीय चुल्होको प्रयोग गर्नेहरु बढेकाले केही मात्रामा भए पनि ग्याँस खपत घटेको निगमका अधिकारीहरु बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि उनको पहलमा २०७३ को तिहारबाट मुलुकबाट लगभग लोडसेडिङ नै अन्त्य भयो । त्यो भन्दा अगाडि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हटाउनको लागि भारतबाट बिजुली आयात गर्नुका साथै आन्तरिक चुहावटमा समेत भारी गिरावट ल्याए । नेपालका धेरैजसो विद्युत आयोजना रन अफ रिभर प्रकृतिको रहेकाले वर्षातको समयमा बिजुली उत्पादन बढी भएर फालाफाल हुने गर्दछ भने वर्षा नभएर खोलानाला सुकेको बेला बिजुली उत्पादन अपुग हुने गरेको छ । नेपालले अहिले वर्षा याममा बिजुली बेचेर समेत विदेशी मुद्रा आर्जन गर्न थालेको छ भने ऊर्जा मन्त्रालयको पहलमा मासिक २० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
पम्फा भुसाल ऊर्जा मन्त्री हुँदा विद्युतीय चुल्होमा सहुलियत दिने घोषणा गरे पनि लागू हुन सकेको छैन । धेरै उपभोक्ताले विद्युतीय चुल्हो नै घरायसी प्रयोगमा ल्याउन खोजे पनि विद्युत प्राधिकरणको अत्यावश्यक समयमा विद्युत आपूर्ति नियमित नहुँदा धेरैले ढुक्का भएर प्रयोग गर्न सकेका छैन । विद्युत प्राधिकरण अहिले देशमा नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न सबस्टेशन निर्माण कार्यलाई तीव्रता दिइरहेको जनाएको छ ।