प्रधानमन्त्रीको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका विरुद्ध देशव्यापी बनेको आन्दोलन फिर्ता भएको छ । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नामबाट उठेको आन्दोलन समिति र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि फिर्ता भएको हो ।
आज दिउँसो काठमाडौको माइतीघरमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शनपछि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कृुनै पनि बैंकको किस्ता र ब्याज नतिर्न र बैंक तथा वित्तीय संस्थाका कर्मचारी पैसा माग्न घरमा आएमा समातेर त्यहीँ राख्न आग्रह गरेका थिए ।
त्यसपछि आजै साँझ समितिमा आवद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा वार्ता गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए ।
देशभरका करिब ६० भन्दा बढी संघसंस्था मिलेर बैंकविरुद्ध आन्दोलन गर्दै आएकामा दुर्गा प्रसाईंको नेतृत्वमा पनि अर्को आन्दोलन चलिरहेको छ ।
व्यवसायीहरुले बैंकको ब्याजदर एक अंकको हुनु पर्ने माग राखी आन्दोलन गर्दै आएका थिए । उनीहरुको आन्दोलन फिर्ता भएपनि प्रसाईं नेतृत्वको आन्दोलनको बारेमा भने केही बताइएको छैन ।