विकास बैंकहरुले गरे मुद्दती निक्षेपमा ब्याजदर घटाउने निर्णय
काठमाडौं । विकास बैंकहरुले मुद्दती निक्षेप र साधारण बचतमा ब्याजदर घटाउने निर्णय गरेका छन्। सोमबार बसेको डेभलपमेन्ट बैंकर्स एसाेसियसनको बैठकले बचतको ब्याजदर घटाउने निर्णय गरेको हो।
विकास बैंकहरुले अधिकतम २५ पैसासम्म ब्याज घटाउने निर्णय गरेको महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले बताए। “हामीले एक वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपमा १५ पैसा र एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेमा २५ पैसा ब्याज घटाएका छौ,” उनले भने “बचतमा पनि १५ पैसा ब्याज घटाउने निर्णय भएको छ।”
अहिले विकास बैंकहरुले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका थिए। अब एक वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत कायम गर्ने भएका छन्। यस्तै एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका हुन्।
बचत खाताको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशतदेखि ८.६ प्रतिशतसम्म कायम गर्ने भएका छन्।