सानिमा मिडिलको आइपीओमा पर्यो १० लाख ६७ हजार बढीको आवेदन
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा १ अर्ब २५ करोड ४ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन २९ गते) सम्ममा १० लाख ६७ हजार ३३० जनाले १ करोड २५ लाख ४ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.९४ गुणा बढी आवेदन हो ।
हाइड्रोपावरले फागुन २६ गतेदेखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ ।
बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले अब सर्वसाधारणका लागि बिक्री गर्दैछ । यसमा ंगलबार (फागुन ३० गते) सम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।