मोदी इनर्जीको आइपीओ बिक्री खुला
काठमाडौँ । मोदी इनर्जी लिमिटेडले आज फागुन २५ गते बिहीबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०% अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो । यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा– ३, मोदी गा.पा वडा नं–५, २, ६ र कुश्मा न.पा–८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यता, जारी पुँजीको १५% अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १०% अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
दुवै समूहका आवेदकहरुले चैत ९ गतेसम्म आइपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा चैत २४ गतेसम्म आइपीओ बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।