माई खोला हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । माई खोला हाइड्रोपावरले आज बिहीबार फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको छ । इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १०% अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गरेको हो ।
यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०% अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
यद्दपि, स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।
यस आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।