भूगोल इनर्जीको आइपीओमा स्थानीयलाई समय थप
, वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन सक्ने
काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्टको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । तथापि, मागभन्दा बढी आवेदन प्राप्त भएमा सो अगावै निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।
भूगोल इनर्जीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १०% अर्थात ५ करोड ४४ लाख ५ हजार ३ सयरुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।
भूगोल इनर्जीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरेको हो । यो मध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्धारी ३ दैलेखका स्थानीय बासिन्दालाई २ लाख ७२ हजार २६ कित्ता र यो बाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।
यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीकोे आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानिय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।