मेन्छियाम हाइड्रोपावरको आइपीओमा स्थानीयलाई समय थप, वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन सक्ने
काठमाडौँ । मेन्छियाम हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । तथापि, मागभन्दा बढी आवेदन प्राप्त भएमा सो अगावै निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ ।
मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १०% (५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको) सेयर बिक्री खुला गरेको हो । मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको हो ।
यो मध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबीआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।