प्रभु स्मार्ट फन्डको इकाईमा आवेदन दिने समय थप
काठमाडौं । प्रभु क्यापिटलले बिक्री खुला गरेको ‘प्रभु स्मार्ट फन्ड’ मा आवेदन दिने समय थप गरिएको छ । अब यस फन्डको इकाईमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समय अगावै सबै इकाई बिक्री भएमा भने त्यसअघि नै पनि निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ । यसले फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ का इकाई बिक्री खुला गरेको हो । यस क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको छ ।
जसमध्ये १४% अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १% अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । यो १० वर्षे बन्दमुखी योजना हो ।
फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् । प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो । हाल प्रभु सेलेक्ट फन्ड पनि सञ्चालनमा रहेको छ ।