विभिन्न क्षेत्रका व्यक्तिहरुलाई जोन्टा क्लब अफ काठमाडौँको सम्मान
काठमाडौँ । जोन्टा क्लब अफ काठमाण्डौँले अन्तर्राष्ट्रिय महिला दिवस र येलो रोज डेको अवसरमा महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धीहरूको विश्वव्यापी प्रयास र त्यसमा काम गर्ने व्यक्तिहरूको सम्मान गरेको छ । जोन्टा क्लब अफ काठमाडौँले एक कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा संलग्न रहेर काम गरिरहेका व्यक्तीहरुलाई सम्मान गरेको हो ।
‘हाम्रो समाजमा परिवर्तन ल्याउने महिलालाई सम्मान गर्दै हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस र ‘येलो रोज डे’ मनाउने गर्छौं,’ जोन्टा क्लब अफ काठमाडौँकी अध्यक्ष आभा शाहले भनिन्, ‘यसवर्ष जोन्टाले आफ्नो क्षेत्रमा अमिट छाप छोडेका १२ असाधारण महिलाहरूलाई सम्मान गर्न पाउँदा गर्वको महसुस भएको छ र यस किसिमको प्रयासले युवा, केटीहरू र महिलाहरूलाई आफ्नो सपनाहरू पछ्याउन प्रेरित गरिरहन्छ ।’
आज आयोजित एलो रोज डे कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौंले विभिन्न क्षेत्रका महिलाहरुलाई अवार्ड प्रदान गरेको छ । २०२३ को लागि मीरा राईले राजकुमारी हेलेन शाह इन्स्पीरेशनल अवार्ड पाएकी छिन् । यस्तै, मुस्कान खातुनले अमर राणा गेम चेन्जर अवार्ड पाउँदा र सुष्मा तामाङ र सोनिका ढकालले रत्ना देवी ओमेन इन स्पोर्टस अवार्ड पाएकी छन् ।
विभूषा पाठक र समीक्षा खड्काले ज्योति छात्रवृत्ति अवार्ड र अञ्जनी पोखरेल र कलबिना श्रेष्ठले इन्द्रकला छात्रवृत्ति अवार्ड पाएका छन् । यस्तै, सीता सुवेदी (डान्सर), निशा चौलागाई (ड्राइभर), सुनिरा रेग्मी (एरो स्पेस), र पिंकी शितल गुरुङले अन्संग हिरोज अवार्ड पाएका छन् । साथै, जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख पत्रपत्रिकाका सम्पादक तथा पत्रकारहरूलाई पनि सम्मान गरेको छ ।