दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्याे |

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो ।
किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो ।
बोर्डका अनुसार विभिन्न कारण दूध उत्पादन लागत मूल्य बढेकाले किसानको हितलाई ध्यानमा राखेर मूल्य बढाउन प्रस्ताव गरिएको थियो । २०७४ सालदेखि हरेक २-२ वर्षमा दूधको मूल्य बढाउने प्रणाली बनाइएको भए पनि यसपटक किसानको लागत धेरै बढेको पाइएकाले १ वर्षमै बढाउन प्रस्ताव गरिएको उनले बताए ।
यसअघि २०६७/६८ देखि २०७८ सम्मको १० वर्षमा ७ पटक दूधको मूल्य बढाइएको छ । २०६७/६८ मा किसानले प्रतिलिटर दूधको मूल्य ३४ रुपैयाँ ६८ पैसा र उद्योगीले ४८ रुपैयाँ पाउने गरी बढाइएको थियो ।
गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो ।
यसपटक किसानका लागि कम्तीमा ७ रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले ९ रुपैयाँ १ पैसा बढाएको छ ।