मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन |
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता शेयर बाँडफाँट गरिनेछ भने प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले प्रबर्धन गरिरहेको ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ। त्यसैगरी, ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ।
सुरी खोला जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.३७ वर्ष रहेको छ। त्यस्तै, माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.४४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.९५ वर्ष रहेको छ। सुरी खोलाको विद्युत उत्पादन अनुमति २७ वर्ष ८ महिना र माथिल्लो सुरी खोलाको ३१ वर्ष १० महिना बाँकी रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थलहरु, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्क https://ipoapply.prabhucapital.com मा गई आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।