सानिमा मिडिल तमोरको फागुन २६ गतेदेखि आइपीओ आउने |
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% अर्थात ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १०% अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५% अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ ।
बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।