दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । आज फागुन १५ गते सोमबार ग्लोबल आइएमई र आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले लाभांश र साधारण सभा प्रयोजनार्थ फागुन १६ गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १२% बोनस सेयर र कर प्रयोजनसहित ८% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस लघुवित्तले फागुन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।
आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश गरी कुल २१.०५% लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गौतम भिलेज रिसोर्ट, बनेपा न.पा. ११ सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।