निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २३ अर्ब माथि, व्यवसाय ५.७४ प्रतिशतले बढ्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको माघसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब २३ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५.७४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको माघसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको माघसम्ममा शिखरले सबैभन्दा धेरै २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १२.९२ प्रतिशत हो ।
कुल बीमाशुल्क आर्जनमा शिखर पछि नेको इन्स्योरेन्स रहेको छ । नेकोले यस अवधिमा १ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै राष्ट्रिय बीमा संस्थानले १ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब ६९ करोड ८१ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ, सानिमा जिआईसीले १ अर्ब १९ करोड रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ८ करोड रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५ करोड रुपैयाँ कल बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कुनैपनि कम्पनीको बीमाशुल्क एक अर्ब माथि पुग्न सकेको छैन् ।
सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ५८ करोड २२ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २.५२ प्रतिशत मात्रै हुन आउँछ ।
राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउनेमा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै १२९.७७ प्रतिशतले बीमाशुल्क बढाउदै १ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ पुर्याएको हो ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ७३ करोड ९१ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनी पछि लुम्बिनी जनरल इन्स्योरेन्सले बीमाशुल्क उल्लेख्य बढाएको छ । लुम्बिनी जनरलको बीमाशुल्क २४.२६ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।
#यस्तै, अजोड इन्स्योरेन्सको १६.२९ प्रतिशत, सानिमा जिआईसीको ११.४७ प्रतिशत, आइएमई जनरलको ११.२७ प्रतिशत र नेशनल इन्स्योरेन्सको ९.७९ प्रतिशतले बीमाशुल्क बढेको छ ।
सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । नेपाल इन्स्योरेन्सको बीमाशुल्क ०.०३ प्रशितले मात्रै बढेर ८८ करोड ९८ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यही अवधिमा नेपाल इन्स्योरेन्सले ८८ करोड ९५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
१८ निर्जीवन बीमा कम्पनीहरु मध्ये १३ वटाले आफ्नो व्यवसायलाई विस्तार गर्दा ५ वटा कम्पनीको व्यवसाय भने खस्किएको छ । यस अवधिमा युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्सको बीमाशुल्क भने घटेको हो ।
सबै भन्दा धेरै युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क ३०.५१ प्रतिशतले घटेर ६८ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९८ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, सगरमाथा इन्स्योरेन्सको १३.६३ प्रतिशत, प्रिमियरको ४.८० प्रतिशत, प्रुडेन्सियलको १.३४ प्रतिशत र नेकोको १.२१ प्रतिशतले बीमाशुल्क घटेको छ ।