ललितपुर महानगरले गर्यो १० सहकारीको दर्ता खारेज |
काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र (प्रमाणपत्र) खारेज गरेको छ । कानुन अनुसार पेश गर्नुपर्ने विवरण दाखिला नगरेका कारण उनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।
महानगरपालिकाको कारवाहीमा पर्ने यस्ता सहकारीहरुमा महिला सिप विकस बहुउद्देश्यीय संस्था, बडीखेल पर्यटन सहकारी संस्था, प्रयास बहुउद्देश्यीय सहकारी संस्था, एभरग्रिन बचत तथा ऋण सहकारी संस्था, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था, पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
त्यस्तै महानगरपालिकाले राजवृक्ष जडिबुटी सहकारी संस्था, एभरेष्ट कृसष सहकारी संस्था, रातो सूर्य सूचना तथा संचार सहकारी संस्था र भुगेश्वर उपभोक्ता सहरकाी संस्थाको पनि इजाजतपत्र खारेज गरेको छ ।
ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र संस्थाले साधारणसभा बोलाउनुपर्ने छ । साथै सोही अवधिमा संस्थाको कारोबारको लेखापरिक्षण गरी विवरण बुझाउनुपर्नेमा ५ वर्ष भन्दा बढि अवधिदेखि संस्थाहरुले विवरण नबुझाएको महानगरले जनाएको छ ।
महानगरपालिकाले कारवाहीमा परेका संस्थाहरुलाई पटक पटक सूचना जारी गरी कानुनले तोके बमोजिमका कार्यहरु सम्पन्न गर्न अनरोध गर्दा समेत अटेर गरेकाले कारवाही गर्नुपरेको महानगरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दर्ता खारेजीमा परेका संस्थाहरुले तिर्नु बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धीत व्यक्तिले प्रमाणसहित साविकका सञ्चालक समितिका पदाधिकारीसँग सम्पर्क गरी फरफारक गर्न समेत महानगरले सूचना जारी गर्दै जानकारी गराएको छ । अबदेखि उक्त संस्थाहरुको नामबाट कुनै पनि काम नगर्न नगराउन समेत महानगरले अनुरोध गरेको छ ।