कुवेतमाथि नेपालको २४३ रनको सानदार जित |
काठमाडौं । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ । युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भएको हो ।
कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् । ६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिन मात्र टिममा समावेश भएका थिए ।
आइसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतसामु जितका लागि तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युनाइेट अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन सय ४३ रन बनायो । विशाल रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले ।
खनालले १२५ रन बनाए । उनले ११७ बल खेल्ने क्रममा तीन छक्का र नौ चौका प्रहार गरे । यस्तै कुमालले १०८ रनको योगदान दिए । उनले ११२ बल खेल्दै १२ चौका हाने । यस्तै विशालविक्रम केसीले २३, दिपकप्रसाद डुम्रेले अविजित २० र दिपक बोहराले १९ रन बनाए ।
बलिङतर्फ कुवेताका लागि आर्श साहिल र हेनरी थोमसले दुई दुई तथा हैबर अली र जय मेहताले एक एक विकेट लिए । अहिले कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन् ।