न्युजिल्यान्डका गैरआवासीय राजदूत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र |

काठमाडौं । न्युजिल्यान्डका लागि नेपालका गैरआवासीय राजदूत कैलाशराज पोखरेलले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
मंगलबार अकल्यान्डस्थित गभर्नरको कार्यालयमा आयोजित कार्यक्रममा राजदूत पोखरेलले न्युजिल्यान्डकी गभर्नर जनरल डेम किन्डेसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
कार्यक्रममा गैरआवासीय राजदूत पोखरेलले नेपाल र न्युजिल्यान्डको शान्ति, समृद्धि, प्रगति र सद्भावको लागि खटिने प्रतिबद्धता जनाएका छन्।
पोखरेलले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्युजिल्यान्डका जनता र गभर्नर जनरलको सुस्वास्थ्य एवम् दीर्घायुको लागि पठाएको सन्देशसमेत सुनाएका थिए।
ओहोदाको प्रमाणपत्र बुझाउँदा गैरआवासीय राजदूत पोखरेलले नेपाललाई चिनाउन पवर्तारोही सर एडमण्ड् हिलारीको योगदानको सम्झना गरेका थिए।
उनले आगामी दिनमा पनि न्युजिल्यान्ड नेपालप्रति उस्तै सद्भाव र पर्यटनको विकासमा सघाउने विश्वास व्यक्त गरिन्।
ओहोदाको प्रमाणपत्र बुझ्दै गभर्नर जनरल किन्डेले नेपाल र न्युजिल्यान्डबीचको द्विपक्षीय सम्बन्धको चर्चा गरेकी थिइन्। उनले माघ १ गते पोखरामा भएको विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन्।
राजदूत पोखरेलले न्युजिल्यान्डका यातायात तथा कार्यस्थल सम्बन्ध तथा सुरक्षा मन्त्री माइकल वुडसँग शिष्टाचार भेट गरी नेपाल र न्युजिल्यान्डबीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गरेका थिए।
यस्तै ओहोदाको प्रमाणपत्र बुझाउने क्रममै राजदूत पोखरेलले न्यूजिल्याण्डको परराष्ट्र तथा व्यापार मन्त्रालयका प्रोटोकल प्रमुख रड ह्यारिससँग पनि भेट गरेका थिए।
त्यसपछि उनले न्युजिल्याण्डको नेसनल पार्टीका सांसद सिमोन ब्राउनसँग भेट गरी दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान गरे।
उनले न्युजिल्यान्डको प्लान्ट एण्ड फूड रिसर्चका वरिष्ठ अधिकारीहरुसँग भेट गरी नेपाललाई सम्भावित बागवानी अनुसन्धान सहयोगका बारेमा छलफल गरेका थिए।