लघुवित्तले दिन पाउने लाभांशको सीमा १५% मा झर्यो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्ने लाभांशमा थप कडाई गरेको छ । केन्द्रीय बैंकले बुधबार निर्देशिका जारी गर्दै लघुवित्तले दिने लाभांशको सीमा २०% बाट घटाएर १५% मा झारेको छ ।
अब लघुवित्तहरुले वार्षिक १५% भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५% भन्दा माथिको प्रस्तावित लाभांशको ५०% रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । यसअघि २०% भन्दा माथि घोषित लाभांशमा मात्र उक्त व्यवस्था लागू रहेको थियो ।
यस्तै, तोकिएको नयाँ सीमा भन्दा माथिको प्रस्तावित लाभांशको ३५% ले हुने रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ । यसअघि २५% मात्र जम्मा गर्नुपर्ने व्यवस्था रहेको थियो । साथै, वार्षिक १५% भन्दा बढी लाभांश प्रस्ताव गरेमा १५% भन्दा माथिको प्रस्तावित लाभांशको १०% ले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्नेछ ।
लघुवित्तले आफ्नो खुद मुनाफाको १% रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने हालको प्रावधानमा उक्त व्यवस्था थप गरेको हो ।
यता, केन्द्रीय बैंकले लघुवित्तले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५०% हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्ने व्यवस्था पनि थप गरेको छ । यस्तै, संस्थाले कर्मचारीहरुलाई लघुवित्त कारोबारसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तीमा एक पटक प्रदान गर्नु पर्नेछ ।
संस्थामा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई संस्थामा प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा रहेको छ ।