मर्जर पस्ताव पारित गर्न सगरमाथा र लुम्बिनी जनरल इन्सुरेन्सको एजीएम आज बस्दै |
काठमाडौं । सगरमाथा इन्सुरेन्सको साधारण सभा आज बिहीबार फागुन ११ गते बस्दैछ ।सभामा लुम्बिनी जनरल इन्सुरेन्ससँग मर्ज हुने प्रस्ताव पेश हुँदैछ । सभा लैनचौर बैंक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा १२.४०% बोनस सेयर र कर तिर्न ०.६५२६% नगद लाभांश वितरण गर्नै प्रस्ताव पनि छ । सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ २६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
यस्तै, लुम्बिनी जनरल इन्सुरेन्सको पनि आज बिहीबार फागुन ११ गते साधारण सभा बस्दैछ । सभामा सगरमाथा इन्सुरेन्ससँग मर्ज हुने प्रस्ताव पेश हुँदैछ । सभा अमृतभोग क्याटरिङ, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा ६.९९% बोनस सेयर र कर तिर्न ०.३६७९% नगद लाभांश वितरण गर्नै प्रस्ताव पनि छ । सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ २६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
सगरमाथा इन्सुरेन्स र लुम्बिनी जनरल इन्सुरेन्सबीच मर्जरका लागि माघ १७ गते अन्तिम सम्झौता भएको थियो । अन्तिम सम्झौता पत्रमा लुम्बिनी जनरलका अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्सुरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम ‘सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड’ रहनेछ । यी दुई कम्पनीको सेयर स्वाप रेसियो १००ः८० कायम भएको छ । अब यी कम्पनी एक भएपछि सगरमाथा इन्सुरेन्सको १०० कित्ता सेयर बराबर लुम्बिनी जनरल इन्सुरेन्सको ८० कित्ता सेयर हुनेछ ।
मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्सुरेन्सको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरलको तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथाको तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने अन्तिम सम्झौता भएको छ ।