महाशिवरात्रीमा पशुपति आएका साधुलाई ९ हजार २०० रुपैयाँसम्म दक्षिणा |
काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ । सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २ सय रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि शुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताए ।
उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मान स्वरुप दक्षिणा दिएर पठाएको बताए । उनले साधुहरुलाई दक्षिणा उनीहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मान व्यवहार गर्नुपर्ने बताए । शिवरात्रीका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलन अनुसार दक्षिणा दिइ आज बिदाइ गरिएको बताए ।
साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित रहेका थिए ।