अमेरिकामा आइपीओ मार्केटले गति लिन थाल्यो |
अमेरिकामा प्राथमिक सेयर बजारमा देखिएको खडेरी अन्त्यको संकेत सुरु भएको छ । युक्रेन–रुस युद्ध र उच्च मुद्रास्फीतिका कारण विगत एक वर्षदेखि अमेरिकाको आइपीओ मार्केट खुम्चिएको थियो । सन् २०२२ मा अधिकांश सार्वजनिक निष्कासनहरु रोकिएका थिए । यद्दपि, गत साता भने आइपीओ सूचीकरणको लहर देखिएको छ । गत साता मात्रै सोलार प्रविधि कम्पनी ‘नेक्स्टराकर इन्क’ को ६३ करोड ८० लाख डलर र चिनियाँ सेन्सर निर्माता ‘हेसाई ग्रुप’ को १९ करोड डलरको अफरसहित ५ वटा आइपीओहरुको बिक्री भएको छ ।
रोयटर्सका अनुसार अमेरिकी सेयर बजारमा १५ महिनापछि एकै साता यति धेरै संख्यामा आइपीओहरु सूचीकरण भएका हुन् । गत साता यी आइपीओहरुले समग्रमा १.१७ अर्ब डलर बराबर पुँजी उठाएका छन् । जुन अघिल्लो साताको १९ करोड ३० लाख डलर भन्दा ६ गुणा धेरै हो । बजारको अस्थिरतामा कमी र कर्पोरेट मूल्यांकनमा भएको वृद्धिले बजारलाई अघि बढाउने क्रम जारी रह्यो भने धेरै ठूला कम्पनीले पनि छिट्टै आइपीओ सूचीकरण गर्नसक्ने आइपीओ बैंकर र कानुनविदहरुले आशा गरेका छन् ।
सामाजिक सञ्जाल फर्म ‘रेडिट’ र सफ्टबैंकको स्वामित्वमा रहेको चिपमेकर ‘आर्म होल्डिङ्स’ ले पनि यस वर्षको दोस्रो त्रैमासपछि आइपीओ जारी गर्नसक्ने सम्भावना बढेको छ । सन् २०२२ मा कम्पनीहरुले आइपीओमार्फत २ दशकयताकै सबैभन्दा कम पुँजी उठाएका थिए । गत वर्ष कम्पनीहरुले ८.७ अर्ब डलर बराबर पुँजी मात्र आइपीओबाट जुटेको थियो । जसकोे तुलनामा सन् २०२१ मा भने कम्पनीहरुले १ खर्ब ५४ अर्ब डलर भन्दा बढी पुँजी आइपीओबाट उठेको थियो ।