सुन आयातमा लगाइएको कोटा प्रणाली खारेज गर्न व्यवसायीको माग |
काठमाडौं । सुनचाँदीको कारोबारबारे राज्यले प्रष्ट निर्देशिका बनाउनु पर्ने व्यवसायीको माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले यस्तो माग राखेको हो ।
पत्रकार सम्मेलनमा व्यवसायीहरूले भने, ‘निर्वाधरुपमा राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेसा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट प्रष्ट मापदण्ड (निर्देशिका) ऐन, कानुन बनाई शीघ्र लागू गर्नु पर्छ । सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुने गरी ऐन नियम कार्यविधि निर्माण सरकारले गर्नु पर्छ ।’
सुनको आपूर्ति सम्बन्धी व्यवस्थामा समेत व्यवसायीहरू असन्तुष्ट बनेका छन् । सरकारले पछिल्लो समय दैनिक १० किलोग्राम सुनकी आपूर्ति व्यवस्था गरेको छ । तर, बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा पनि झन्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुने गरेको छ । दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले यति सुनले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठिन भएको सुनचाँदी व्यवसायीहरूको भनाई छ ।
‘विधिवत् तरिकाले बैंकबाट आउने सुन बाहेक विदेशबाट आउने नेपालीहरूले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने नेपाल सरकारबाट राजपत्रमा प्रकाशित गरी सुविधाको व्यवस्था गरेको छ । यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि भरथेग पुर्याइरहेको अवस्था थियो’। विज्ञप्तिमा भनिएको छ, ‘तर, पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको छ ।’
यसरी राज्यले तोकेको मापदण्ड अनुरूप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधी जस्तो व्यवहार गर्न थालिएको सुनचाँदी व्यवसायीको आरोप छ । राज्यको नियम अनुसार दर्ता गरी बसेका व्यवसायीहरूलाई हतोत्साहित मात्र बनाएको छैन, सिङगो पेसा प्रति नै वितृष्णा पैदा गरेको उनीहरूको भनाई छ ।
२०६६ साल चैत्र ३१ गतेदेखि सुनचाँदी बजार एकाधिकार रूपमा परिमाणात्मक बन्देज (कोटा) प्रणालीमा वाणिज्य बैंकहरुको मात्र एकल आपूर्तिमा सञ्चालन हुँदै गर्दा निजी क्षेत्रका वैधानिकरुपमा पेसा व्यवसाय दर्ता गरेर गरेर व्यवसायीहरूले यस क्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नपाउँदा बजार एकपक्षीय र अन्यायपूर्ण रूपमा सञ्चालन हुँदै आएको व्यवसायीको भनाई छ । नेपालको राजपत्रमा ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ । ‘वैध तरिकाले स्याइएको सुन कसरी अवैध हुन्छ ? वैध तरिकाबाट आयात गरी कारोबार गर्ने कारोबारी कसरी दोषी भए ?’, व्यवसायीहरूको प्रश्न छ ।