सपोर्ट लघुवित्तको साधारण सभा चैत ४ गते, ११.५८ प्रतिशत लाभांश प्रस्ताव |
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन ७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा विहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कमपनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ८ करोड ५८ लाखको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीहरूबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाले गर्नेछ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।