उपायले विराटनगरमा सुरु गर्याे ‘उपाय स्टेशन’ |

काठमाडौं । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप विराटनगरमा ‘उपाय स्टेशन’ सञ्चालनमा ल्याएको छ।
करिब ३ बिगाको क्षेत्रफलमा फैलिएको उपाय स्टेसनमा ड्राइभर पार्टनरहरुलाई विश्राम केन्द्र, ७० भन्दा धेरै ट्रकहरु पार्क गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध छ।
पूर्वपश्चिम राजमार्गको टंकीसिनवारीमा अवस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र हो। त्यस स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको छ। उपायले नेपालको सातैवटा प्रदेशमा उपाय स्टेशन खोल्ने योजना राखेको छ।
फागुन ५ गते उपाय स्टेशन विराटनगरको उद्घाटन गर्दै उपायका सञ्चालक तथा सहसंस्थापक रन्जीव श्रेष्ठले उपायको ३ सेवाहरुका बारेमा विस्तृत चर्चा गरे। उनले पहिलो सेवामा प्रविधिको मद्दतबाट दुईपांग्रेदेखि २१ टनको ट्रकसम्मको गाडी नेपालका ठूला सहरमा बुक गर्न मिल्ने सुविधा रहेको बताए।
दोस्रो सेवामा साना पार्सल, त्तच् कोड र सबै खाले सामान नेपालभरि प्रत्यक ग्राहकको घरदैलोमा पुर्याउने र त्यसैगरी अन्तर्राष्ट्रिय मापदण्डको सुविधासम्पन्न गोदाम व्यवस्थापन, भण्डारण र माग अनुसारको वितरणको सुविधा प्रदान गर्ने उपायको तेस्रो सेवामा पर्ने श्रेष्ठले बताए।
‘प्रविधिको माध्यमबाट ढुवानी व्यवसायलाई डिजिटाइज र सहजीकरण गर्दै समस्त लजिस्टिक क्षेत्रको सुदृढीकरण गर्ने योजना उपायको रहेको छ’, उनले भने।
पूर्वाधार विकासको सन्दर्भमा, उपायले नेपालका ६० भन्दा बढी सहरमा आफ्ना शाखा फैलाएको छ र आगामी वर्षहरुमा आफ्ना शाखा, फ्रेन्चाइज साझेदार, उपाय स्टेसन र अन्तर्राष्ट्रियस्तरको भण्डारण केन्द्रमार्फत नेपालका सातै प्रदेशहरुमा सेवाहरु विस्तार गर्ने लक्ष्य राखेको छ।
उपाय एक नाफामूलक संस्थामात्र नभइ सम्पूर्ण लजिस्टिक क्षेत्र र ड्राइभर पार्टनरहरुको जीवनस्तर उकास्ने तथा सामाजिक मूल्य प्रभाव सिर्जना गर्न उत्सुक रहेको बताएको छ।
‘तसर्थ, डोल्मा इम्प्याक्ट फन्डजस्ता हाम्रा लगानीकर्ता र यूकेएड/स्विसकन्ट्याक्टजस्ता विकास साझेदारको सहयोगमा उपायले ड्राइभर पार्टनरहरुका लागि रोजगारीका अवसरहरु सिर्जना गरेर र पूर्वाधार सुविधा तथा प्राविधिक दक्षताको तालिम प्रदान गरेर उनीहरुको जीवनस्तर उकास्ने जिम्मा लिँदै आएको छ’, श्रेष्ठले भने, ‘डिजिटल नेपालको ढुवानी मेरुदण्ड बन्ने उपायको उद्देश्य रहेको छ।’