यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज सोमबार (फागुन ८ गते) अन्तिम दिन हो । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्दैछन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आज सोमबारसम्म कायम रहेका सेयरधनीले मात्र यी कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद गरी कुल ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।
यता, ङादी ग्रुप पावरले फागुन २५ गते साधारण सभा बोलाएको छ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुन्छ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद गरी कुल ५% लाभांश प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर र ६.०५२ % नगद (कर सहित) गरी कुल २१.०५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।