बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकको ८० प्रतिशत फाइनान्स सुविधा |

काठमाडौं । काठमाडौं। बीवाइडीको गाडी किन्ने ग्राहकहरुको सहजताको लागि साइमेक्स इंक र एभरेष्ट बैंक बीच ऋण उपलब्ध गराउने सम्झौता भएको छ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स र बैंकबीच बीवाइडीका एटो-३ र ई-६ किन्न चाहने ग्राहकहरुका लागि ऋण उपलब्ध गराउने सम्झौता भएको हो।
अबदेखि बीवाइडीका यी विद्युतीय कार किन्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट सजिलै कर्जा पाउने कम्पनीले जनाएको छ। दुई संस्थाबीचको सम्झौता अनुसार बीवाइडीका विद्युतीय साधन किन्ने ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरे पुग्छ।
एभरेष्ट बैंकले विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र भएको र वातावरणमा यसको ठूलो फाइदा रहेका कारण बीवाइडीका विद्युतीय कारमा कर्जा दिने निर्णय भएको जनाएको छ।
सम्झौतामा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र एभरेष्ट बैंकका डेपुटी जनरल मेनेजर केशवराज पौडेलले हस्ताक्षर गरे। पौडेलले वातावरणमैत्री बीवाइडीका गाडीमा कर्जा दिने सम्झौंताले विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएको बताए।
यसैगरी साइमेक्स इंककी श्रेष्ठले बीवाइडी सधैं गुणस्तरीय र वातावरणमैत्री गाडी ग्राहकलाई दिन प्रतिबद्ध रहेको बताइन्।
अहिले बीवाइडीले न्यु जेनेरेसन इ-६ र एटो-३ जस्ता एसयुभी र एमपीभी बिक्री गर्दै आएको छ। केही दिनअघि मात्रै कम्पनीले एटो-३ को १०० किलोवाट क्षमताको मोटरमा नयाँ भेरियन्टको बुकिङ खुल्ला पनि गरेको छ।
कम्पनीका अनुसार एटो-३ खरिद गर्न अबदेखि १२ लाख ९८ हजार रुपैयाँ मात्र डाउन पेमेन्ट गरे हुन्छ। यस्तै यसको ई-६ खरिदका लागि ११ लाख ८० हजार रुपैयाँ मात्र डाउन पेमेन्ट गरे पुग्छ।
बीवाइडीका १०० किलोवाट एटो-३ को मूल्य ६४ लाख ९० हजार रुपैयाँ, १५० किलोवाट एटो-३ को ८९ लाख ९० हजार र ई-६ को ५९ लाख रुपैयाँ छ।