कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त |
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि वर्षका लागि सिइओमा नियुक्त गरेको हो । गुरुङ सिभिल बैंकका पुर्व सिइओ हुन भने पछिल्लो समय म्यानमार सिटिजन बैंकमा सिइओको रुपमा कार्यरत थिए । सीईओ छनोट समितिले आज तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । उनले सोमबार कार्यभार सम्हाल्दै छन् ।
हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव पनि सर्टलिष्टमा परेका थिए । उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।
उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।
त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।