पदावधि सकिनुअघि नै राजीनामा दिने विश्व बैंकका प्रमुखको घोषणा |

काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् ।
डेभिडको कार्यकाल सन् २०२४ मा समाप्त हुँदैछ । उनले आफ्नो कार्यकाल पूरा हुनुअघि नै जुनको अन्तिममा राजीनामा दिने घोषणा गरेका हुन् ।
डेभिड तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा विश्व बैंकको प्रमुख बनेका थिए । उनी ट्रम्पको अभियान सल्लाहकार पनि थिए ।
विश्व बैंकले अत्यधिक विश्वव्यापी चुनौतीहरू सामना गरेको अवधिमा उनले नेतृत्व गरे । उनको कार्यकालमा विश्वमा कोभिड, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू देखा परे ।
६६ वर्षीय मालपासले राजीनामाको घोषणा गर्दै आफ्नो राजीनामालाई सहज नेतृत्व परिवर्तनको अवसर भनेका छन् ।