आज महाशिवरात्रि : कुन कुन रुटमा सवारी चलाउन पाइँदैन ? |
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा हिजो रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो ।
त्यसैगरी मालवहाक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरे ।
सवारीमार्ग निर्धारणमा बस तथा माईक्रोबसहरू रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुनु पर्ने हुन्छ । रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुनेछन् । यसका साथै कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगंजको बाटो चलाउनु पर्ने भएको छ ।
त्यस्तै, माइक्रोबस तथा टेम्पोहरू सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउनु पर्ने हुन्छ । जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउनु पर्ने हुन्छ ।
त्यसैगरि, मालवाहक सवारी साधनहरू जोरपाटी, बौद्ध, चावहिल हुदैं महाराजगंज तर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगंज तर्फ जानु पर्नेछ । कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने छन् । कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन् ।
महाराजगंज, चावहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने र कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने छन् ।
पार्किङ्ग व्यवस्थापनमा तीलगंगा आंखा अस्पताल अगाडी तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारी साधनहरु, देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र र सिफल चौरमा पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
त्यस्तै, गुह्येश्वरी पारी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधनहरू,वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु पार्किङ्ग गर्न सकिने व्यवस्थापन गरिएको छ ।