युनिक नेपाल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, साबिकको घोडीघोडा लघुवित्तकाे शेयर मात्रै काराेबार हुने |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत नभएको युनिक नेपाल र साविकको घोडीघोडा लघुवित्त एक आपसमा मर्जर भई बनेको युनिक नेपाल लघुवित्तको शेयर सूचीकृत भएको हो ।
साबिकको घोडीघोडा लघुवित्तको १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपालको ९ लाख ६८ हजार २०० कित्ता गरी कुल ११ लाख ६ हजार ३२५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट धितोपत्रको सूचीकरण गरी साविकको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ ।
साविकको घोडीघोडा लघुवित्तको संस्थापक र सर्वसाधारण समुहको कुल १ लाख ३८ हजार १२५ कित्ता शेयर युनिक नेपालको लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ। युनिक नेपाल लघुवित्तको संस्थापक समुहको ९ लाख ६८ हजार २०० कित्ता शेयर भने थप सार्वजनिक निष्काशन सम्पन्न नभएसम्म कारोबार गर्न नपाउने गरी शेयर सूचीकरण भएको हो ।
लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम ३२९ रुपैयाँ ८३ पैसादेखि ९८९ रुपैयाँ ४९ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार आइतबारदेखि साविक घोडीघोडा लघुवित्तको संस्थापक र सर्वसाधारण समहुको कुल १ लाख ३८ हजार १२५ कित्ता शेयर युनिक नेपालको लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले युएनएलबी कारोबार संकेत प्रदान गरेको छ ।